इलाम— इलामको माई नगरपालिका–२ का एक शिक्षकमाथि दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक तथा शिक्षक हुन्। प्रहरीका अनुसार ११ र १४ वर्षीया दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई गए राति आफ्नै घरबाट पक्राउ गरिएको हो।

प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ। इलामका डिएसपी मानबहादुर राईका अनुसार उजुरीका आधारमा ढकालविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

ढकाल नेकपा (एमाले) सँग निकट रहेको बताइएको छ। उनी एमाले जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका १३ नम्बर इलाका सचिव, तथा माई नगरपालिका शिक्षा समिति सदस्य समेत रहेको प्रहरीको भनाइ छ।

यस घटनाले स्थानीय तहमा चासो बढाएको छ भने बालबालिकाको सुरक्षाको विषयमा पनि प्रश्न उठाएको छ।