कालीकोट— कर्णाली राजमार्गमा खसेको पहिरो हटाएसँगै राजमार्ग फेरि सुचारु भएको छ। कालीकोट जिल्लाको जिते नजिक खसेको पहिरोका कारण जिते–मान्म सडकखण्ड आज बिहानदेखि अबरुद्ध भएको थियो।
लगातारको वर्षापछि सडकको चट्टान खसेर पहिरो जाँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला र मुगुबाट सुर्खेततर्फ जान तयारी अवस्थामा रहेका सवारी साधन रोकिएका थिए। यात्रुहरूले लामो समय सास्ती खेप्नुपरेको थियो, विशेषगरी पहिरो खसेको स्थानमा होटल वा पसल नभएको कारण समस्या झनै बढेको थियो।
खाँडाचक्र–१ का स्थानीय मिलन खड्काका अनुसार वर्षा सुरु भएसँगै राजमार्गका विभिन्न स्थानमा पहिरो झर्ने क्रम बढ्दो छ। विशेषगरी स्थानीय तहबाट खनिएका सहायक सडक र अनियोजित मर्मतको कारण जमिन थर्किँदा पहिरोको जोखिम बढिरहेको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले केही घण्टामै पहिरो हटाइए पनि साँघुरो सडकका कारण सवारीसाधन ओहोरदोहोर गर्न समय लागेको जानकारी दिए।
सडक डिभिजन कार्यालयले पहिरो पन्छाउने स्काभेटर तयारी अवस्थामा राखे पनि तत्कालै सडक खुलाउन समय लाग्ने अधिकारीहरूको भनाइ छ।
राजमार्ग खुल्ला भएपछि रोकिएका सवारीसाधनहरू पुनः गन्तव्यतर्फ गएका छन्।