काठमाडौं— आज असार १५, देशभर दही चिउरा खाई खेतमा रमाउँदै धान दिवस मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, लोकगीत गाएर रमाइलो गरिरहेका छन्।

शारीरिक थकान हटाउन र ऊर्जा सञ्चय गर्न दही चिउरा खाने परम्परा छ। खेतीपातीमा नभएका नागरिकले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्छन्।

नेपाली संस्कृतिमा दही शुभताको प्रतीक हो । घरबाट निस्किँदा, विदेश जाँदा दहीसँग टीका लगाउने चलन छ। आयुर्वेदमा पनि दही र मोहीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

२०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। खेतमा रोपाइँ गर्दै लोकदोहोरी गाउने, हिलो छ्यापाछ्याप गर्ने चलनले यो दिन अझै रङ्गीन बनाउँछ।

तर, यस वर्ष असारको मध्यसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त रहेको छ। कतिपय किसान मल अभावको गुनासो गरिरहेका छन्, यद्यपि सरकार मल पर्याप्त रहेको बताइरहेको छ।