विराटनगर— विराटनगरमा चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।

उनीहरु भारतको पुर्णियाबाट आएको २० देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन।  उनीहरूलाई विहीबार १२ गते विराटनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

 महिलाहरूले विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधन प्रयोग गरी वृद्ध तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै नगद तथा गरगहना चोरी गर्ने कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपिला चुडालले जानकारी दिए ।

प्रहरीका अनुसार ती महिलाहरूले मोरङको कटहरी गाउँपालिका–४ निवासी ७० वर्षीय नारायण प्रसाद काफ्लेको सिटी सफारीमा यात्रा गर्दै गर्दा झोलाबाट नगद रकम चोरी गरेका थिए। घटनापछि पक्राउ गरिएको महिलाहरूको साथबाट एक हजार दरका तीन गड्डा अर्थात् तीन लाख रुपैयाँ नगद बरामद गरिएको छ।

हाल उनीहरूविरुद्ध मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।