सुनसरी— लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा सुनसरीमा प्रभातफेरी, झाँकी तथा नृत्य प्रस्तुतिसहित लागू औषधविरुद्ध सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय सुनसरी र Fight Against Narcotics (FAN) जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तथा इनरुवा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
इनरुवा नगरपालिका–३ स्थित ओम साई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की, विशिष्ट अतिथिका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी, र कार्यक्रम अध्यक्षतामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की रहेका थिए ।
प्रभातफेरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सुरु भई बजार परिक्रमा गर्दै ओम साई पार्टी प्यालेसमा समापन गरिएको थियो। सहभागीहरुले “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस् भनि प्रहरीलाई सूचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षरसमेत गरेका थिए।
मुख्यमन्त्री कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै लागू औषधको दुर्व्यसनले समाजमा गम्भीर असर पारिरहेको उल्लेख गरे । उनले समन्वय र सहकार्यको माध्यमबाट मात्र दुर्व्यसनमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे ।। यसै क्रममा FAN जिल्ला कार्यसमितिका पदाधिकारीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले FAN का स्वयंसेवकहरूलाई प्रमाणपत्र, टोपी (CAP) र टी–शर्ट वितरण गरे। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले शुभकामना मन्तव्य राखेका थिए ।
कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नारालाई आत्मसाथ गर्दै सबैलाई एकजुट भई लागू औषधविरुद्धको अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कोशी प्रदेश सभाका सदस्यहरू, विभिन्न पालिका तथा सुरक्षा निकायका प्रमुखहरू, पूर्व प्रहरी कर्मचारी, संघ–संस्था, संचारकर्मी, बुद्धिजीवी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू र नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको थियो।