काठमाडौं— सामाजिक सञ्जाल फेसबुक र टेलिग्राम ग्रुपको दुरुपयोग गरेर २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ बस्ने १९ वर्षीय क्रिस पोखरेल छन् ।
समिर तामाङ नामको आइडीबाट फर्निचरमा लगानी गर्दा फाइदा हुने प्रलोभन देखाएर तथा अनलाइन जब लगाइदिने बहानामा उनीहरूले ठगेर फरार भएका हुन् ।
असार ११ मा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
आरोपीहरूले १ करोड ३१ लाख ६२ हजार रुपैयाँको क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको एसपी बोहराको भनाइ छ ।
उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।