पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साले ३१९ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा बुधबार साँझ ७ः३० बजे वीरगन्ज महानगरपालिका–२१, परवानीपुर चेकपोस्ट नजिक चेकजाँच गर्दा चरेस बरामद भएको हो।
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गर्दा ठूलो परिमाणमा चरेस भेटिएको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार १३ पोकामा गरी जम्मा ३१९ किलोग्राम चरेस बरामद गरिएको छ। साथै चालक स्याङ्तानको हाफ पाइन्टको दाहिने खल्तीबाट नेपाली रुपैयाँ १ लाख ९२ हजार नगद पनि फेला परेको छ।
चरेस हेटौंडाबाट ड्राइपोर्टतर्फ लाने क्रममा श्रीपुर वडा प्रहरी कार्यालय, प्रहरी चौकी श्रीसिया र प्रहरी चौकी परवानीपुरको संयुक्त टोलीले उक्त कारबाही गरेको हो। स्याङ्तानलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।