कैलाली— कैलालीको लम्कीचुहामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।
यस घटनाको अनुसन्धान गर्न प्रहरीले भान्जालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।
तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंह जैशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।