काठमाडौं— जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया रहेका छन। 

रोकाया हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका उनलाई जनप्रशासन क्याम्पसको उजुरीको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।