मोरङ— मोरङको रंगेली नगरपालिका–८ दर्वेशास्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

खेत जोतेर बाटोमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रंगेली–१ निवासी ३२ वर्षीय केदार न्यौपानेलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार ४१ वर्षीय राजन भट्टराई गम्भीर घाइते भई हाल नोबेल अस्पताल विराटनगरमा उपचाररत छन्।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक, रंगेली–८ का ३० वर्षीय जिवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।