झापा— झापाको कन्काई नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी साधन चलाउने सात जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यात्रुवाहक बसका २ जना चालक, २ जना सहचालक, १ जना ईभी गाडी चालक, १ जना टिपर चालक र १ जना मोटरसाइकल चालक रहेका छन्।
सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले असार ९ गते अपराह्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा सवारी चेकजाँच तथा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको थियो। सो क्रममा यात्रुवाहक तथा निजी सवारीसाधनका चालकहरूलाई लक्षित गरी लागू पदार्थ सेवन परीक्षण गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सातै जनामाथि इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।