काठमाडौं— लागू औषधको कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई काठमाडौंको एक होटलबाट २८.५७ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४० वर्षीय दिपक राय र जिल्ला नुवाकोट, मेघाङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।
काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरीको एक होटलमा खैरो हिरोइनको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले होटलको कोठा नं.४०१ मा छापा मार्दा दुई जना व्यक्ति लागू औषधसहित पक्राउ परेका हुन्।
उनीहरुबाट खैरो हिरोइन २८.५७ ग्राम, नगद रकम रु २०,०००, १ थान डिजिटल तराजु र विभिन्न ब्रान्डका ३ थान मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।