धरान — फेसबुकमार्फत ठगी धन्दा चलाउने सुनसरीको देवानगन्ज गाउँपालिका–१ का कुशेश्वर मेहता भारतको भिमनगरबाट पक्राउ परेका छन्।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामक फेक आइडी बनाएर थाइल्यान्डको Siam Commercial Bank को म्यानेजरको नक्कली परिचय दिंदै ठगी गर्दै आएका थिए।
उनले कुर्मराज शाही नामका व्यक्तिलाई "एलेन अर्बी शाही" नामको खातामा रहेको अपुताली सम्पत्ति हस्तान्तरण गरिदिने बहानामा झुठो विश्वास दिलाउँदै विभिन्न मितिमा करिब ६२ लाख ७५ हजार २ सय रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।
शाहीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी योगराज खतिवडाको नेतृत्वमा खटिएको टोलीले भारतको भिमनगरबाट मेहतालाई नियन्त्रणमा लिएको हो। ठगीपछि उनी भारतमा लुकेर बसेका थिए।
नेपाल प्रहरीको साइबर ब्युरोले लिखित अनुरोधसहित अनुसन्धान अघि बढाएपछि मेहतालाई पक्राउ गरिएको हो। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार ठगी कसुर अन्तर्गत कारबाही अघि बढाइएको छ।
पक्राउ परेका मेहतालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन काठमाडौंस्थित साइबर ब्युरो भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।