मुगु— मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई झन्डै ७०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया शारदा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकसहित अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट खटिएको टोलीले उद्धार कार्य सम्पन्न गरेको थियो। हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।