काठमाडौं —  महिलाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा भारत बिहार राज्य, बेतिया जिल्ला सरिसो बजार सुनलपट्टी स्थायी ठेगाना भएका २० वर्षीय अम्मरनाथ कुमारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका उप–निर्देशक तथा एसपी दिपकराज अवस्थीका अनुसार कुमारलाई २०८२ साल असार ६ गते धादिङको धुनिवेशी नगरपालिका–८ बाट पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धान अनुसार, अम्मरनाथले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग मित्रता गाँसी, म्यासेन्जरमा संवादका क्रममा पीडितको अश्लील तस्वीर तथा भिडियोहरू उनकी जानकारी बिना स्क्रिन रेकर्ड गरेका थिए। ती तस्वीर र भिडियोहरू फेक फेसबुक एकाउन्ट प्रयोग गरी पीडितका परिवारका सदस्यहरूलाई पठाइएको आरोप छ।

जाहेरीका आधारमा गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट अम्मरनाथको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।