चितवन— चितवनको नारायणी नदीमा आइतबार दिउँसो बग्दै गरेका एक अन्दाजी ४० वर्षीय पुरूषलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा ती पुरूष बगिरहेको अवस्थामा देखिएपछि सशस्त्र प्रहरी बल आइआरटी पोस्ट पुलचोकबाट खटिएको टोलीले तिनको उद्धार गरेको हो। प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको नेतृत्वमा रहेको टोलीले ती व्यक्तिलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारपछि उनलाई तत्काल भरतपुर सरकारी अस्पताल लगिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर, ती व्यक्तिको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।

उनी नदीमा कसरी पुगे भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।