सप्तरी — सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भलुवा जाने बाँधको भित्री सडकमा आइतबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनामा परेर बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरी शम्भुनाथ नगरपालिका–११ राजपुर निवासी १९ वर्षीय अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–१ बैरवा निवासी ३४ वर्षीय ओमप्रकाश पञ्जियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो भने पञ्जियारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
त्यस्तै, को १० प ५६२ नम्बर मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ का ३० वर्षीय सुभास महतो घाइते भएका छन्। उपचारपछि उनलाई घर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।