विराटनगर— झापा र मोरङका दुई फरक स्थानहरूबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थित चेकजाँचको क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेको प्रदेश ०१–०३० च ७७९३ नम्बरको कार जाँच गर्दा कारको सिटमुनि लुकाएर ल्याउँदै गरिएको ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
साथै उक्त कारका चालक काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङकी २२ वर्षीया नोजिना रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थितबाट इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ३० वर्षीय बरुण लिम्बुलाई ७ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र नगद १५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनामाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।