गुल्मी— कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक खण्डमा सुक्खा पहिरो खसेपछि गुल्मीको कालीगण्डकी करिडोर सडक गत शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। तीन दिन बितिसक्दा पनि सडक खुल्न नसक्दा यात्रु र स्थानीयवासीलाई गम्भीर समस्या भएको छ।
सडक अवरुद्ध हुँदा गाउँपालिका केन्द्र पुर्तिघाट र त्यहाँबाट बुटवलतर्फ जाने सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार पहिरो खसेको स्थानमा तीनवटा डोजर तयारी अवस्थामा राखिएको छ तर सडकभन्दा माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले यात्रुको सुरक्षाका लागि प्रहरी टोली खटाइएको र वैकल्पिक मार्गका रूपमा हर्मीचौर–देउराली–अर्बेनीकोट सडक प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए।
“पहिरो नरोकिएकाले आज केलुकीसम्म पनि सडक खुल्ने अवस्था छैन,” उनले भने।
सडक लामो समयसम्म बन्द हुँदा जनजीवन प्रभावित भएको गाउँपालिका अध्यक्ष थापाले बताए। “सडक कहिले खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तर तीन दिनदेखि पूर्ण रूपमा बन्द छ। हामीलाई पनि जवाफ दिन गाह्रो भइरहेको छ,” उनले भने।