सुनसरी— सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
दुर्घटना असार ३ गते दिउँसो साढे ३ बजे प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा भएको हो। उक्त मोटरसाइकल धनकुटा जिल्ला पाख्रिबास नगरपालिका–४ घर भई हाल इटहरी–१ मा बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठले चलाएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार उनकी ४५ वर्षीया श्रीमती हिरा मेघा गम्भीर घाइते भएकी थिइन्।
घाइते मेघालाई तत्काल उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।