काठमाडौं— इटाली र अजरबैजानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–७ बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखाको धार्चे गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।
दर्शन खड्काले तीन जना पीडितलाई इटाली पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाखका दरले जम्मा छ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, सरेश गुरूङले अजरबैजान पठाइदिने प्रलोभन देखाई दुई जना पीडितसँग दुई लाखका दरले चार लाख रुपैयाँ लिएका थिए। पीडितहरूसँग दुवै जनाले रकम लिएपछि सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले दर्शनलाई बुधबार काठमाडौं–७ बाट र सरेशलाई मंगलबार काठमाडौं–२६ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।