काठमाडौं— तिब्बत क्षेत्रमा भइरहेको भारी वर्षाको प्रभावस्वरूप भोटेकोशी र सुनकोशी नदीमा बाढीको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सिन्धुपाल्चोक जिल्लाको प्रशासन कार्यालयले असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा बाढीको सम्भावना उच्च रहेको भन्दै सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ, “भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरू भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनार क्षेत्रहरू जोखिमयुक्त मानिएकोले यहाँ बसोबास गर्ने महानुभावहरूलाई सतर्क रहनुहुन हार्दिक अनुरोध छ।”
सिन्धुपाल्चोक प्रशासनले चीनको प्रहरी कार्यालयमार्फत तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सूचना प्राप्त गरेपछि जोखिमको पूर्वानुमान गर्दै सार्वजनिक सचेतना बढाएको हो।
स्थानीय प्रशासनले आवश्यक परे सुरक्षित स्थानमा सारिने व्यवस्था मिलाउने तयारीसमेत गरिरहेको जनाएको छ। बासिन्दाहरूलाई नदीको सतहको निगरानी गर्न र आकस्मिक अवस्थामा स्थानीय निकाय वा सुरक्षाकर्मीको सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ।