काठमाडौं— देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् भने तीनवटा सडकखण्डमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ।

नेपाल प्रहरीका अनुसार, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीनवटै स्थानमा पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी, डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि हाल सवारी सञ्चालन गर्न नसकिने अवस्थामा छन्।

प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जानकारी दिँदै धनकुटाको रवि–राके–भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको जनाएको छ।

प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले सडक खुलाउने प्रयास गरिरहेका छन्। सर्वसाधारणलाई अवरुद्ध र जोखिमपूर्ण स्थानतर्फ यात्रा नगर्न प्रहरीको अनुरोध छ।