विराटनगर– मोरङ र झापाका विभिन्न स्थानहरूमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीहरूले फरक-फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।

झापा जिल्ला, मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुलस्थित चेकजाँचको क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले कन्काई नगरपालिका–४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैदिन, अनारमनी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले झापाको बिर्तामोड नगरपालिका–४ बाट दमक नगरपालिका–१ निवासी ३२ वर्षीय विजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीलाई १३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ३० वर्षीय पंकज खत्रीलाई ४ ग्राम ११ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै विरुद्ध लागूपदार्थ सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।