सुनसरी—   सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचको क्रममा दुईवटा ट्रकबाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद गरी ट्रक चालकसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।

असार २ गते धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकबाट ७० वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ हजार १ सय ३० किलो गाँजा फेला परेको हो।

त्यस्तै, असार ३ गते इटहरी उपमहानगरपालिका–२० तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँचको क्रममा ना।५ ख ६११६ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याक गरी माथिबाट बन्दाकोपी र आलुले छोपेर ल्याउँदै गरेको अवस्थामा थप २ हजार १ सय किलो गाँजा बरामद गरेको हो।

दुबै घटनासँग सम्बन्धित आरोपीहरू धनकुटाको शाहिदभूमि गाउँपालिका–६ का राजेन्द्र राई र सुनिल राई, तथा बराहक्षेत्र नगरपालिका–९ का सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता, चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले पाख्रिवास नगरपालिका–८ का नारायण प्रसाद राईलाई ९ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।