काठमाडौं— सवारी चालक अनुमति पत्र कार्यालय, पर्साका अधिकृत कमलराज गौतमविरुद्ध २ करोड ५२ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गौतमले २०५५ सालदेखि २०७९ सालसम्म सार्वजनिक पदमा रहँदा आम्दानीभन्दा धेरै खर्च गरी अवैध सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ। आयोगका अनुसार गौतमले वैध रूपमा करिब २ करोड ८९ लाख रुपैयाँ आम्दानी गरे पनि उनले आफन्तको नाममा घर, जग्गा, गाडी, सुन लगायतमा ५ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए।
आयोगले स्रोत नखुलेको २ करोड ५१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति मानी मुद्दा दायर गरेको हो। साथै, सम्पत्ति विवरण झुटो र अपूरो पेस गरेको आरोपमा थप सजायको माग गरिएको छ। गौतमले केही सम्पत्ति श्रीमती सरला नेपालको नाममा राखेको पाइएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ।





































