रौतहट— सशस्त्र प्रहरीले पछिल्ला चार महिनामा रौतहटबाट एक करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटले फागुन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा सीमा क्षेत्रमा सक्रियता बढाउँदै यस्तो परिणाम निकालेको हो।
प्रहरीले ६९ लाख ३२ हजार रुपैयाँ बराबरका सवारीसाधन नियन्त्रणमा लिएको गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । तीमध्ये एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल रहेका छन्।
यसैबीच, ८५ लाख ६८ हजार २२४ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टससमेत बरामद भएका छन्।
यसबाहेक, स्रोत खुल्न नसकेका १० लाख ६१ हजार नेपाली रुपैयाँ र ६ लाख ४ हजार ६४० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। साथै, एक थान सेमी अटोमेटिक पेस्तोल पनि प्रहरीले फेला पारेको छ।
गणपति बस्नेतले मानव बेचबिखनको शंका लागेका घटनामा १० जना नेपाली महिलालाई सीमा नाकाबाट उद्धार गरिएको जानकारी दिए। उक्त अवधिमा ५३ किलो गाँजा र अन्य लागुऔषध पनि बरामद भएको उनको भनाइ छ।
सशस्त्र प्रहरीको हेडक्वाटर अन्तर्गतका पाँचवटा युनिटलाई चोरीपैठारी र अन्य अवैध गतिविधि नियन्त्रण गर्न अझ कडाइका साथ खटिएको जानकारी दिइएको छ।