काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ५ सय ४४ नेपाली नागरिक विभिन्न अपराध अभियोगमा जेल चलान भएका छन्। साउदीको कडा कानुन र साथीभाइको प्रभावमा परी गैरकानुनी गतिविधिमा संलग्न हुँदा उनीहरू कारागार पुग्न बाध्य भएका हुन्।

साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, जेलमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अर्थात् ३४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसार अभियोगमा छन्। साउदीमा मदिरा सेवन तथा कारोबार पूर्णरूपमा गैरकानुनी र दण्डनीय मानिन्छ।

त्यस्तै,८४ जना लागूऔषध ओसारपसार,५३ जना चोरी,१२ जना वेश्यावृत्तिमा संलग्न,१६ जना तोडफोड,१५ जना घुसखोरी,४ जना हत्या,७ जना कानुन उल्लङ्घन,र १६ जना अन्य अभियोगमा कारवाहीमा परेका छन्।

यीमध्ये ३४१ जनालाई अदालतले सजाय तोकीसकेको छ भने २०३ जनाको मुद्दा अझै अदालतमा विचाराधीन छ।

साउदीमा कार्यरत नेपालीहरू कानुन उल्लङ्घनमा संलग्न भएकोप्रति नेपाली राजदूत डा. नरेश विक्रम ढकालले चिन्ता व्यक्त गरेका छन्। उनले साथीभाइको प्रभाव, लोभ र अज्ञानताका कारण नेपालीहरू फसिरहेको बताउँदै, साउदीको कडा कानुनबारे जानकारी राख्न र सजग रहन आग्रह गरेका छन्।

दूतावासका अनुसार साउदीमा अवैध रूपमा कार्यरत नेपालीको संख्या दिनहुँ बढिरहेको छ। हालसम्म ३८ सयभन्दा बढी नेपालीले एक्जिट भिसा प्राप्त गरी स्वदेश फिर्ता हुने प्रक्रिया थालेका छन्।

साउदी अरबमा करिब ४ लाख नेपाली कार्यरत छन्। उनीहरूमध्ये धेरैजसो कफाला प्रणालीको दुरुपयोग, श्रम शोषण, मानसिक तनाव, गलत आश्वासन, वा बढी आम्दानीको खोजी जस्ता कारणले पुरानो कम्पनी छाडेर अवैध रूपमा नयाँ काम खोज्ने गरेका छन्। यो प्रवृत्तिले उनीहरूलाई थप कानुनी समस्यामा पारेको दूतावासले जनाएको छ।

दूतावासले साउदीमा कार्यरत सबै नेपाली श्रमिकहरूलाई कानुनी प्रक्रिया, मर्यादा र शिष्टाचार पालना गर्न र कुनै पनि अवैध गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ।