काठमाडौं— राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा अदालतमा अनुपस्थित भएपछि उनीहरूलाई फरार अभियुक्त घोषणा गरिएको छ। अब उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढाइएको छ।

तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा संलग्न रहेको आरोपमा मुद्दा दायर हुँदा मिश्र र राणा दुवै अदालतमा उपस्थित थिएनन्। उनीहरू अनुपस्थित रहँदा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आरोपपत्र पेश गरिसकेको छ।

राणा उपचारका लागि अदालतबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए। तर अब उनीहरू सम्पर्कविहीन छन्। अदालत स्रोतका अनुसार अनुसन्धान अधिकृतले तीन जना कानुन व्यवसायी र मिश्रका स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना गरिसकेका छन्। जमानी बसेका ती वकिलहरू जरिवाना तिरे पनि मिश्र र राणा अझै अदालतमा हाजिर भएका छैनन्।

यसअघि दुर्गा प्रसाईसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाएपछि अदालतले बाँकी अभियुक्तहरूको उपस्थितिको लागि दबाब बढाएको हो। अब मिश्र र राणालाई खोजी गर्न प्रहरीलाई पक्राउ पुर्जी पठाइने तयारी छ।