अहमदाबाद — बिहीबार अहमदाबादमा भएको भयावह विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान घटनास्थल पुगेका छन्। उनले दुर्घटनास्थलको अवलोकन गरेका थिए र त्यसपछि सिभिल अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री मोदीले दुर्घटनाबाट जीवित बच्न सफल एकमात्र यात्रु विश्वकुमार रमेशलाई अस्पतालमा भेटेर हौसला दिएका थिए। रमेश लन्डन जाने क्रममा आफ्नो भाइसँग एआई-१७१० फ्लाइटमा सवार थिए। प्रधानमन्त्रीले रमेशको हात समाउँदै सान्त्वना दिएका थिए, जसले रमेशको अनुहारमा केही राहतको अनुभूति झल्किएको देखिन्थ्यो।
विश्वकुमार रमेशले विमान दुर्घटनाबारे भने,
“मेरो आँखै अगाडि सबै भयो। मलाई केही समय त म पनि मर्छु कि जस्तो लाग्यो। तर जब म ब्यूँझिएँ, म जीवित थिएँ। मैले सिट बेल्ट हटाएर भाग्ने प्रयास गरेँ र बाहिर निस्किएँ। एयर होस्टेस र अरू यात्रुहरू मेरो आँखै अगाडि मरे। टेकअफको ५–१० सेकेन्डभित्रै सबै भयो।”
प्रधानमन्त्री मोदी विमान दुर्घटनास्थल — बीजे मेडिकल कलेज क्याम्पसको होस्टेल नजिकैको क्षेत्र — मा करिब १० मिनेट रहेका थिए। उनले दुर्घटनापछि आगलागी भएको भवन पनि निरीक्षण गरे। मोदी गम्भीर र दुःखी मुद्रामा देखिन्थे, र उनले सम्बन्धित निकायहरूसँग तत्काल समीक्षा बैठक गर्ने तयारी पनि गरेका छन्।
बोइङ ७८७ ड्रिमलाइनर एआई-१७१० विमान बिहीबार दिउँसो सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। विमान सिधै मेडिकल कलेज परिसरमा रहेको होस्टेल भवनमा खसेको बताइएको छ।
विमानमा २ पाइलट, १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार तीमध्ये १६९ जना भारतीय, ५३ बेलायती, एक क्यानडाली र सात पोर्चुगिज नागरिक थिए।
दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन, तर अधिकांश यात्रुहरूको मृत्यु भएको आशंका गरिएको छ।
अहमदाबाद सिभिल अस्पतालका डा. शारिक एमका अनुसार विश्वकुमार रमेशको अवस्था हाल स्थिर रहेको छ र उनी ट्रमा वार्डमा उपचाररत छन्।