रुपन्देही — जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक महिनाको अवधिमा झन्डै २ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली तथा चोरी निकासीका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीको सक्रियतासँगै सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको बताइएको छ।
२२ वैशाखदेखि सुरु गरिएको विशेष निगरानी अभियान अन्तर्गत प्रहरीले २६ जेठसम्म विभिन्न स्थानहरूबाट तस्करी गरिएका सामग्री बरामद गरेको हो। यसै क्रममा, २७ जेठमा प्रहरीले करिब २४ लाख ४५ हजार रुपैयाँ बराबरका १,३६९ थान कृत्रिम यौन खेलौना बरामद गरेको छ।
ओमसतिया गाउँपालिकाको बाइपास सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट (UK18 CA 2575) भएको ट्रकबाट ती खेलौना बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जानकारी दिए।
बरामद गरिएको ट्रकसहित भारत उत्तर प्रदेश, बिजनौर जिल्ला, रामपुर थाना निवासी ४५ वर्षीय नसिब अहमद र कन्नौज जिल्ला, मंगत खडा निवासी २६ वर्षीय देवेन्द्रकुमार सिंहलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई भैरहवा भन्सार कार्यालयमा थप कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको कमाण्डमा आएको परिवर्तनसँगै रुपन्देहीमा तस्करी र अवैध कारोबार विरुद्धको कारबाहीमा तीव्रता आएको छ। यस अवधिमा नियन्त्रणमा लिइएका सबै सामग्रीहरू कानुनी प्रक्रिया अनुसार भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीले सीमापारीबाट हुने सामान तस्करीसँगै नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमाथि पनि निगरानी बढाएको छ। तोकिएको स्थानबाहेक अन्यत्र लैजाँदै गरेको ९ लाख ९१ हजार ५२६ रुपैयाँ बराबरको नदीजन्य पदार्थ नियन्त्रणमा लिई जरिवाना गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।
उक्त कारबाहीमा ९ वटा ट्र्याक्टर, ८ जेसीबी, ९ वटा ट्रिपर तथा हाइवा, ३ पिकअप भ्यान, १० मोटरसाइकल र ८ जना व्यक्ति नियन्त्रणमा लिइएको छ।
प्रहरीको अनुसार, यस्ता नियमित कारबाहीबाट सीमावर्ती क्षेत्रको अवैध व्यापार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।