काठमाडौं — चैत १५ गते तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न ठहर गर्दै काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सम्पन्न भएपछि मध्यरातमा उक्त आदेश जारी गरिएको हो। अदालतले बाँकी ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रदर्शनका 'जनकमान्डर' भनेर चिनिएका प्रसाईँ सहित ३९ जना प्रतिवादीलाई थुनछेक बहसका लागि इजलास बाहिर राखिएको थियो। उनीहरू चैत १५ गते संयुक्त जनआन्दोलन समितिको प्रदर्शनका क्रममा भड्किएको हिंसामा संलग्न रहेको अभियोग छ। उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।
अर्कोतर्फ ११ जनाविरुद्ध केवल आपराधिक उपद्रवको अभियोग लगाइएको थियो, ती सबै धरौटी बुझाएर रिहा भइसकेका छन्।
५० अभियुक्त मध्ये ३९ जना मात्रै प्रहरी सम्पर्कमा रहेकाले उनीहरूका बयान जेठ १२ देखि २० गतेसम्म लिइएको थियो। त्यसपछि सुरू भएको थुनछेक बहस बिहीबार सम्पन्न भएपछि अदालतको आदेश आएको हो।