गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ६१ जना विदेशी नागरिक सवार रहेको पुष्टि भएको छ। भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार तीमध्ये बेलायतका ५३, पोर्चुगलका ७ र क्यानडाका एक नागरिक थिए।
विमानमा १६९ जना भारतीय यात्रुहरू तथा १२ जना क्रु सदस्यहरू रहेको जनाइएको छ। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै दुर्घटनामा परेको हो। विमान बस्ती क्षेत्रमा रहेको डाक्टरहरू बस्ने एक होस्टेलमा खसेको जानकारी प्रहरीले दिएको छ। सो होस्टेलमा ५०–६० जना बस्दै आएको बताइएको छ।
विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको खबर आएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेपनि उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।