काठमाडौं— १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी हिरण्य कुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१४ महालक्ष्मी बसोबास गर्दै आएका ४१ वर्षीय मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार नेपाल सरकार वादी भई दायर भएको सो मुद्दामा मगर लामो समयदेखि फरार रहेका थिए। उनलाई पक्राउ गरी हाल थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मगरविरुद्ध अदालतले बैंकिङ कसुरसम्बन्धी ठुलो बिगोको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

5c73ae8b-f468-4f69-ba89-16918b2267f0