काठमाडौं— राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् ।
चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै रु तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।
त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताए । उनका अनुसार राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो ।