काठमाडौं— तीनकुनेमा अवाञ्छित गतिविधिको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बिहीबार अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार सरकारी वकिलले प्रतिवादी पक्षको बहसमा उठेका बुँदामा जवाफ दिएका छन्।

प्रसाईं पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सुरेन्द्र भण्डारी, टंक दुलाल, भीमार्जुन आचार्यलगायत १३ जना कानुन व्यवसायीले बहस गरेका थिए।

सरकारी वकिलको जवाफपछि थुनामुक्त गर्ने कि थुनामा राख्ने भन्ने निर्णय काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट आउनेछ। राज्यविरुद्ध र ज्यानसम्बन्धी मुद्दामा ५० जना प्रतिवादीमध्ये ३९ जना थुनामा छन्।