सुनसरी— सुनसरी र ताप्लेजुङबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अबिनाश चौधरी, सन्तोष श्रेष्ठ, जिवन बुढाथोकी, लक्ष्मण माझी, सुजन तामाङ र नितेन वर्मन रहेका छन् ।

प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा–९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र–१ बाट पक्राउ गरेको हो। 

त्यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका–७ घर भई हाल फुङलिङ–६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ–२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ । 

प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।