काठमाडौं— वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।

नेपालप्रेसडटकमका फोटो पत्रकार कार्कीलाई हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा थापाले अपशब्द गर्दै दुर्व्यवहार गरेका थिए।

सार्वजनिक स्थानमा निर्वाध रूपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ति जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको निष्कर्ष उल्लेख गरिएको छ। सो विज्ञप्तिमा दोषीलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ।

श्रमजीवी पत्रकारमाथि भएको यस हर्कतको विरुद्ध सशक्त आवाज उठाउन चौतारीले नागरिक समाज, पेसागत संघसंगठनलाई आह्वान गरेको छ। यसैगरी पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभूति दिन समेत विज्ञप्तिमार्फत माग गरिएको छ।