काठमाडौं—  हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।

उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्‍याएको एसपी बोहराले बताए ।

व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडीबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । राइड सेयरिङको विरोध गर्दै गण्डकीबाट सुरु गरिएको यातायात हडताल हिजोदेखि देशैभरि जारी छ ।

हडतालकाबीचमा पनि मयुर यातायातले भने आफ्नो सेवा रोकेको छैन । एसपी बोहराका अनुसार अहिले त्यहाँको अवस्था सामान्य बन्दै गएको छ ।