काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका— १७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईलेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका—४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका—१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। भेनस अस्पताल बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।