काठमाडौं— डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउपालिका–५, केदारगाउँमा दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको हो ।

बोगटान फुड्सिल गाउँपालिका–६ का १९ वर्षीय धनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४, वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३, सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि शैलेश्वरी अस्पताल दीपायल लगिएको डीएसपी पालले बताए । जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका– १८, फूलवारीका २४ वर्षीय हरिचन्द्र चौधरीलाई नियन्त्रणमा लिएको डीएसपी पालले बताए ।