काठमाडौं— नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेका छन् ।  

जेठ १३ गते काठमाडौंको दक्षिणकाली नगरपालिका– ५ फर्पिङ चेकपोस्ट स्थितमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिपको छतमा नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक समेत नभएको औषधी लुकाइ छिपाइ ल्याएको अवस्थामा चालक मुनिस दास पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दासका साथबाट sildenafil Tablets IP 100 mg ३,५०८ ट्याबलेट, Pentate-40 ५००० ट्याबलेट, sildenafil Citrate and Dapoxetine  २२२८ ट्याबलेट, Combipad of mifepristone and Misoprostol Tablet Ip Clear Kit ४०० ट्याबलेट, Pregnot Kit १२५० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरक्षिक अपील राज बोहराले बताए । उनलाई आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

WhatsApp Image 2025-05-30 at 4.50.00 PM