काठमाडौं— ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा प्रवेश गरेका युवकको शङ्कास्पद मृत्यु भएको छ । जेठ १४ मा मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो ।

नखिपोटस्थित लोहाचोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

उनको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ । शङ्कास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने एसपी जोशीले जानकारी दिए।