बिराटनगर— झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपक गडतौला, बिरहाङ लेछर्वो लिम्बु, किरण राई, मनिश कुमार गुप्ता र अन्जन राई रहेका छन् ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ बर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र.१–०१–०१३ प ५४८३ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका २० बर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।