काठमाडौं— पछिल्लो एक महिनामा देशभर आगलागीमा परेर ११ जनाले ज्यान गुमाएका छन् । आगलागीमा परेर ज्यान गुमाउनेमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्यांक विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको बताए । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।

आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उनले बताए । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायसमेत मरेका छन् । 

ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजार रुपैयाँ बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आगलागीबाट ११० परिवार विस्थापित नै भएका छन् । एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुन प्रदेशमा कति आगलागीका घटना ?

प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएको छ । उक्त प्रदेशमा १४३ वटा आगलागीका घटना भएका छन् । त्यसपछि १३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएको छ । यसैगरी, १०४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताए ।

यसैगरी, बागमतीमा ६४, काठमाडौं उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।