काठमाडौं— यार्सा टिप्न जुम्लाको सुब्बाकुना पाटन पुगेकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। तातोपानी गाउँपालिका—८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो।

यार्सा गुम्बा टिप्न तातोपानी गाउँपालिका—८ मा पर्ने पतिउडको सुब्बाकुना पाटनमा पुगेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिए ।

बिहीबार दिउँसो करिब ३ बजेको समयमा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । कल्पना  यार्सा टिप्नका लागि तीन दिनअघि मात्रै पाटन पुगेकी थिइन्। त्यहाँ पाटन पुग्न गाउँबाट करिब ८/९ घण्टाको समयमा लाग्ने गर्दछ। उनीसँगै अन्य ६ जना आफन्तहरू पनि यार्सा टिप्न पाटन पुगेका थिए।