ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप चोरी भएका थिए ।विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले उपलब्ध गराएको थियो ।
फाउन्डेसनले विद्यालयलाई हस्तान्तरण गरेको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिएका थिए।
हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष लाग्यो । बुधबार प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा ती ल्यापटप फेला पारेको हो । चोरी भएका आठवटा ल्यापटप एक वर्षपछि बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।
विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ ।
खोजीकै क्रममा करिव तीन महिनापछि हराएका ११ मध्ये तीनवटा ल्यापटप फाकुम्बाकै घोडेचौर भन्ने स्थानमा झ्यासमा फालिएको अवस्थामा भेटिएको थियो।
बाँकी आठवटा ल्यापटप भने निरन्तर खोजी भइरहे पनि फेला पर्न सकेको थिएन। खोजी गर्ने क्रममै झण्डै डेढ वर्षपछि मङ्गलबार गाउँ नजिक जङ्गलको एक ओडारमा बोरामा पोका पारेर राखिएको अवस्थामा फेला परेको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक गोपाल ठाकुरलाई उक्त ओडारमा ल्यापटप भएको एक सूचना भएपछि तत्काल प्रहरी, वडाका जनप्रतिनिधि र प्र.अ.ठाकुरसहितको टोली सो स्थानतर्फ गएको थियो।
ल्यापटपहरु दुरुस्त अवस्थाका रहेपनि प्रयोगमा ल्याउन मिल्ने वा नमिल्नेबारे थाहा नभएको विद्यालयकी शिक्षक आङ्बुहाङले बताए । उनका अनुसार फेला परेको ल्यापटपहरु प्रहरीको जिम्मामा रहेको छ। यसअघि फेला परेका तीनवटा ल्यापटप पनि प्रहरीकै जिम्मामा रहेको विद्यालयले जनाएको छ।
उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालालाई वनेमले आग्रह गरेका छन् ।