एजेन्शी । युक्रेनले लगातार दोस्रो दिन रसियाका विमानस्थलमा ड्रोन आक्रमण गरेपछि, रसियाले सुरक्षा सुनिश्चित नभएसम्मका लागि भन्दै केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।
रसियाको उड्डयन निगरानी संस्था रोसाभियात्सियाले टेलिग्राममार्फत राजधानी मस्कोका चारवटै प्रमुख विमानस्थलहरू बन्द गरिएको जानकारी दिएको छ।
मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबाट मस्को प्रवेश गर्नुअघि नै नष्ट गरिएको बताए। ती ड्रोनका भग्नावशेष मुख्य राजमार्गमा खसे पनि कुनै मानवीय क्षति नभएको उल्लेख गरेका छन्।
हालसम्म युक्रेनले रसियाका विमानस्थलहरूमा गरिएको आक्रमणबारे औपचारिक टिप्पणी गरेको छैन। यद्यपि युक्रेनले भने रसियाले आफ्ना विभिन्न शहरहरूमा रातभर आक्रमण गरेको दाबी गरेको छ।






































