काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ । २० देखि ४० सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् । अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा प्रहार गरिरहेको देखिन्छ ।
उक्त घटना भएको भिडियो कम्तीमा सात–आठ महिना पुरानो भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।
'सात–आठ महिना अघिको भिडियो अहिले पोष्ट भएको रहेछ' उनले भने, ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न व्यक्तिहरू सुधार केन्द्रकै कर्मचारी र अन्य बिरामीहरू हुनसक्ने आशंका छ । घटनाबारे अनुसन्धान गर्न सुधार केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए । थप अनुसन्धानका लागि कुटाइ खाने व्यक्तिलाई पनि सम्पर्क गर्ने उनको भनाइ छ ।
डीएसपी रायका अनुसार कुटपिटमा परेका व्यक्ति करिब ६ महिनाअघि नै सुधार केन्द्रबाट डिस्चार्ज भई सामान्य जीवनयापन गरिरहेका छन् । प्रहरीले भिडिओमा देखिएका कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।






































