झापा – झापामा लागुऔषध तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाएको छ। तर गोली चलाइए पनि ती व्यक्ति फरार भएका छन्।

सोमबार बिहान करिब ८:४५ बजे झापाको कनकाई नगरपालिका–५ स्थित चाप्रामारी नजिकैको सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले सवारी चेकजाँच गरिरहेको थियो। त्यसक्रममा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्तिलाई रोक्न खोज्दा उनी आफ्नो झोला र मोटरसाइकल छाडेर भागेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार फरार व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। यद्यपि, ती व्यक्ति प्रहरीको निगरानीबाट उम्किन सफल भए।

छाडिएको झोलाबाट प्रहरीले करिब २०० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।